१३ भदौ, एजेन्सी । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबर महिनामा हुने विश्व सम्मेलन नजिकिँदै जाँदा विभिन्न देशहरूबाट उम्मेदवारी दिने क्रम शुरू भएको छ । यसै क्रममा स्वतन्त्र प्रताप शाहले युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । युवा व्यवसायी शाह यसअघि तीन पटकसम्म एनआरएनए अस्ट्रेलिया राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष भएर काम गरिसकेका छन् ।
देशभित्र तथा बाहिर रहेका युवाहरूलाई जोड्दै लगानी र सीप नेपालमा भित्र्याउने, गैरआवासीय नेपाली स्पोर्ट्स एकेडेमीको स्थापना गर्ने, एक एनआरएन एक विदेशी साथी नेपालको भ्रमणमा पठाई नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोग पुर्याउने, युवा स्वरोजगारमूलक तालिम र कार्यक्रम सञ्चालन गर्ने लगायतका चुनावी एजेण्डा शाहका रहेका छन् ।
२० वर्षको उमेरमा नेपालको अछामबाट अस्ट्रेलिया पुगेका युवा व्यवसायी शाह नेपाल तथा अस्ट्रेलियामा विभिन्न व्यवसायमा संलग्न छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुने विश्व सम्मेलनले सन् २०१९–२१ को नयाँ कार्यसमितिको चयन गर्नेछ । शाह सन् २०१७–२०१९ को सम्मेलनमा युवा संयोजकको चुनावमा एक मतको झिनो अन्तरले पराजित भएका थिए।