११ भदौ, सिड्नी । एडिलेडमा आएका नयाँ विद्यार्थीहरूका साथै अन्य नवआगन्तुकहरूलाई समेत लक्षित गरेर यही ५ सेप्टेम्बरका दिन एडिलेडको हाइन्डमार्सस्थित ४९ ‘ए’ ओर्समण्ड स्ट्रिटमा एक सूचनामूलक कार्यक्रमको आयोजना गरिएको छ।
अजीमेड फाउण्डेसन तथा रिलेसनसिप अस्ट्रेलियाको संयुक्त आयोजना हुन लागेको उक्त कार्यक्रममा अस्ट्रेलिया आएका नवआगन्तुकहरूमा आइपर्ने मानसिक स्वास्थ्यका समस्याका साथै अन्तर्राष्ट्रिय विद्यार्थीले रोजगार पाउनका लागि अपनाउनुपर्ने विभिन्न उपायहरूका बारेमा विज्ञहरूद्वारा सुझाव र जानकारी दिइनेछ।
एडिलेडको स्थानीय समयअनुसार बेलुकी ५ बजेदेखि शुरू हुने उक्त कार्यक्रमका सहभागी भएर भर्खर अस्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूले फाइदा लिन सक्ने कुरा अजीमेड फाउण्डेसनकी संयोजक प्रतिष्ठा गौतमले देशसञ्चारलाई बताइन्।
उनले भनिन्, ‘अस्ट्रेलियाको नेपाली समुदायमा मानसिक समस्याले विकराल रूप लिँदै गएको अवस्थामा नेपाली विद्यार्थीहरूका साथै नेपाली समुदायलाई यसतर्फ सचेत गराउने मुख्य उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । हामीले नेपाली समुदायले सहभागिता जनाएर यसबाट फाइदा लिने अपेक्षा गरेका छौं । अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको यो कार्यक्रम तेश्रो सेसनअन्तर्गत पर्दछ। साथै मानसिक स्वास्थ्यका बारेमा अरू सेसनहरू पनि जारी रहनेछन्।’