११ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तीब्रता ल्याउनुपर्ने बताउनुभएको छ ।
पर्यटन विभागले मंगलबार गरेको कार्यक्रममा मन्त्री भट्टराईले पर्यटन वर्ष मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै काम बाँकी नै रहेकाले कार्यशैलीमा तीब्रता ल्याउनुपर्ने आवश्यकता औल्याउनुभएको हो । उहाँले पर्यटन विभागले केन्द्रीय रुपमा गर्दै आएको कामहरुको अख्तियारी मुलुकका विभिन्न ७ स्थानका कार्यालयलाई हस्तान्तरण गरिसकेकाले सबै तहबाट पर्यटन वर्ष लक्षित गरी कामलाई तीब्रता दिनुपर्ने बताउनुभयो ।
‘पर्यटन बर्ष २०२० को मिसन पूरा गर्न मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै काम छन्, त्यसमा केही ढिलाई भएको छ’ उहाँले भन्नुभयो, ‘सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न । अलिकति दौडिनु पर्नेछ । स्पीड अप गर्नुपर्नेछ । हाम्रो गियर चाँही १, २ नम्बरबाट अब हुदैन । माथिल्लो गियरमै जानुपर्छ ।’
सरकारले आउँदो पुसभित्र नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने तथा त्यसको केही महिना भित्र उडान पनि शुरू लक्ष्यसाथ काम भइरहेको बताउनुभयो । त्यसैगरी सुर्खेत विमानस्थललाई रात्रिकालिन उडान भर्ने व्यवस्थासहित स्तररोन्नतिको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।