११ भदौ, काठमाडौं । उमेर तीन दशक पनि नकाटेकी उनको अनुहारमा चाउरी देखिन्छ । शरीर पनि ख्याउटे छ । काखमा पाँच सन्तान छन् ।
थोरै काम धेरै थकानले उनी दिक्क छिन् । २७ वर्षको उमेरमा सात पटक गरेको गर्भपतनका कारण शारीरिक, मानसिक र आर्थिक हिसाबले कमजोर भइसकेको उनी बताउँछिन् । ‘पाँचचोटि त औषधि खाएर बच्चा फालें । दुई पटक अप्रेसन गरें,’ उनले सुनाइन् ।
श्रीमानले परिवार नियोजनका साधन प्रयोग गर्न नमान्दा धेरै पटक गर्भपतन गर्नुपरेको उनले बताइन् । श्रीमानले आफूलाई पनि साधन प्रयोग गर्न नदिएको उनले दुखेसो पोखिन् । ‘प्रत्येक पटक गर्भपतन गर्न जाँदा स्वास्थ्यकर्मीले साधन प्रयोग किन नगरेको भन्दै हर्काछन् ।,’ उनले भनिन् । उनी धेरै पटक गर्भपतन गरेका कारण महिनावारी गडबडी र पाठेघर संक्रमणको सिकार भइसकेकी छन् । अझै कति पटक गर्भपतन गराउनुपर्ने हो भन्ने चिन्ताले पनि उत्तिकै सताएको छ ।
थापाथलीस्थित प्रसूति गृहमा असुरक्षित गर्भपतनका जटिलता लिएर उनीजस्ता महिला दिनँहु इमर्जेन्सी कक्षमा भर्ना हुन्छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।