संकटमा अमेजन रेनफरेस्ट: स्थानीय भन्छन्, ‘हाम्रो घर जलिरहेछ’

६ भदौ, एजेन्सी । ब्राजिलको अमेजन रेनफरेस्टमा अत्याधिक मात्रामा भइरहेको आगलागीप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेजन रेनफरेस्टमा लागेको डढेलो अन्तर्राष्ट्रिय संकट या विपद रहेको बताएका छन् । जी सेभेन राष्ट्रको सम्मेलनअघि उनले अमेजन जंगलमा लागेको डढेलो विश्वव्यापी चिन्ताको विषय रहेको र यो सम्मेलनको एजेण्डा बन्नु पर्ने बताएका छन् । उनले ट्वीट गरेका छन्, ‘आवर हाउस इज बर्निङ्ग (हाम्रो घर जलिरहेको छ)’ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो सरकार वार्ताका लागि तयार रहेको बताएका छन् । तर ब्राजिल सहभागी नभएको जी सेभेनमा यसबारे छलफल गर्नु अधिनायकवादी मानसिकताको उपज हुने बताएका छन् । बोल्सोनारोले अमेजन जंगलमा लागेको डढेलोका बारेमा भइरहेको अघिक छलफलमा एनजिओको हात रहेको आरोप लगाएका थिए ।

तीव्र गतिमा फडानी अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ । ब्राजिलको नेशनल इन्स्टिच्युड फर स्पेस रिसर्च (इनपे) ले प्राप्त गरेको नयाँ स्टेलाइट तथ्यांक अनुसार यो वर्ष अमेजन रेनफरेस्टमा डढेलो लाग्ने क्रम अत्याधिक मात्रामा बढेको देखिएको हो । गएको वर्षको सोही अवधिको तुलनामा यो वर्ष अमेजन रेनफरेस्टमा डढेलोको मात्रा ८३ प्रतिशतले बढेको स्याटेलाइट तथ्यांकले देखाएको इनपेले उल्लेख गरेको छ ।

बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ । अमेजन रेनफरेस्टमा लागेको आगोका कारण निस्किएको धुवाँले गर्दा साओ पाओलो शहरमा गएको सोमबार दिउँसो ब्ल्याकआउट भएको थियो । अमेजोनास र रोन्डोनिया राज्यमा पर्ने अमेजन रेनफरेस्ट क्षेत्रमा लागेको आगो तथा त्यहाँबाट चलेको हावाका कारण सोमबार दिउँसो झण्डै एक घण्टा साओ पाओलोमा ब्ल्याकआउट भएको थियो । आगलागी भएको क्षेत्र साओ पाओलोबाट २७ सय किलोमिटर भन्दा पर पर्छ ।

यो वर्षको जनवरीदेखि अगस्टसम्ममा अमेजन जंगलमा आगलागीका ७२ हजार घटना भएको इनपेले उल्लेख गरेको छ । यो गएको वर्षको सोही अवधिको तुलनामा ८३ प्रतिशत बढी हो । सन् २०१३ यता इनपेले अमेजनमा हुने आगलागीका घटनाको तथ्यांक राख्न थालेयता यो सबैभन्दा बढी हो । गर्मी मौसममा ब्राजिलका जंगलमा आगलागी हुने गरेका छन्, तर कृषि तथा पशु चरनका लागि गैरकानूनी रुपमा वनमा आगो लगाइने गरेको पनि छ । इनपेको भनाईप्रति राष्ट्रपति बोल्सोनारोले आक्रोश व्यक्त गरेका छन् । किसानले जमिन सफा गर्नका लागि आगो लगाउने भएकाले यो समय आगो लाग्ने उनको भनाई रहँदै आएको छ ।

तर इनपेले भने सामान्यतया अघिल्ला वर्षको सुक्खा समय लाग्ने गरेको भन्दा यो वर्ष अत्याधिक मात्रामा आगलागी भएको जनाएको छ । बोल्सोनारोले संरक्षण भन्दा विकासलाई जोड दिएपछि जंगल फडानीको दर बढेको वातावरणविदले बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो रेनफरेस्ट हो । यसलाई विश्वको प्रमुख कार्बन भण्डारण केन्द्र मानिन्छ, जसका कारण विश्वव्यापी तापक्रम वृद्धिको दर कम गर्न सहयोग पुग्छ ।

बुल्डोजर लगाएर वन फडानी भएको छ । अधिकांश रुख जरैदेखि ढालिएका छन् भने केही फेदबाट काटिएका छन् । फडानी गरिएको क्षेत्रमा खेती गर्ने क्रम पनि सुरु भएको बताइन्छ । यस्तै काठहरु अवैध रुपमा बिक्री गरिने गरेको छ । अमेजन रेनफरेस्टको अधिकांश भाग ब्राजिलमा पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार