
३ भदौ, सिड्नी । परोपकारी संस्था हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाको आयोजनामा १७ अगष्ट शनिबारका दिन सिड्नीको ५८८ प्रिन्सेस हाइवेस्थित इन्द्रेणी फङ्सन सेन्टरमा २० औं वार्षिकोत्सव च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाका संयोजक हर्ष गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले गरिरहेको विभिन्न कार्यक्रमहरूको बारेमा प्रकाश पारेका थिए।
समाजसेवामा समर्पित यो संस्थाले प्रवासबाट मातृभूमिप्रतिको दायित्व पूरा गर्ने केही जमर्को गरेको भन्दै उनले यस संस्थामार्फत् सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि न्युसाउथवेल्स राज्यका खेलकुद तथा बहुसांस्कृतिक मन्त्री जोन सिडोटीले हेल्प नेपाल नेटवर्कले गरेको सामाजिक परोपकारी कामको प्रशंसा गरेका थिए। अस्ट्रेलिया बहुसांस्कृतिक समाज भएको बताउँदै उनले दुःखमा परेका मानिसलाई सहयोग गर्नु हाम्रो पहिचान भएको कुरा उल्लेख गरे ।
त्यसैगरी, हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष तथा सल्लाहकार डा. राजु अधिकारीले यो संस्था विश्वका १३ देशमा फैलिएको बताउँदै यसको अरूभन्दा अलग किसिमको परोपकारी पक्षका बारेमा प्रकाश पारेका थिए।
हेल्प नेपाल नेटवर्क, नेपालका अध्यक्ष अरूणसिंह बस्नेतले अस्ट्रेलिया लगायत विश्वका अनेक देशहरूमा बस्ने नेपालीहरूले देखाएको सहयोग र सद्भाव अनुकरणीय रहेको बताउँदै उनीहरूले गरेको सहयोगको हरेक पैसा सही ठाउँमा गएको छ भन्ने सन्देश दिनका लागि पनि आफू त्यस कार्यक्रममा उपस्थित भएको बताए।
यहाँको सानो सहयोगले पनि नेपालमा ठूलो अर्थ राख्ने हुनाले यहाँ हुर्कंदै गरेको दोश्रो पुस्तामाझ पनि परोपकारी भावनालाई पुराउन पनि उनले सम्बद्ध सबैसँग अनुरोध गरे।
विशेष अतिथि न्युसाउथवेल्सका लागि महावाणिज्यदूत दीपक खड्काले धन्यवाद दिँदै नेपालमा परोपकारी कार्यक्रमलाई अझै विस्तार गर्दै अगाडि बढाउनका लागि सुझाव दिए।
कार्यक्रममा सो संस्थाले हेल्प नेपाल नेटवर्क नेपालद्वारा संचालित हेल्प नेपाल बाल आश्रमका लागि ५ हजार अस्ट्रेलियन डलरको चेक संस्थाको अध्यक्ष अरुणसिंह बस्नेतलाई हस्तान्तरण गरिएको थियो । सो संस्थाले सन् २०१३ मा डिला खरेलकाे नेतृत्वमा अस्ट्रेलियाबाट करिब १ करोड १० लाख रकम संकलन गरेर हेल्प नेपाल नेटवर्क नेपाललाई हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा हेल्प नेपाल नेटवर्कका विभिन्न गतिविधिहरू समेटिएको डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो । सो कार्यक्रमबाट उठेको सहयोग रकम दोलखा जिल्लामा निमार्णाधीन राज कुलेश्वर विद्यालयलाई प्रदान गरिने संस्थाका अध्यक्ष हर्ष गौतमले जानकारी गराएका थिए ।
कार्यक्रममा इन्द्रा वन, मन केसी, नारायण प्रधान, डा. कृष्ण हमाल लगायतका समाजका अगुवाहरूका साथै सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।