
३ भदौ, काठमाडौं । अभिनेता आर्यन सिग्देलको अभिनय रहेको फिल्म ‘हजार जुनीसम्म’ अहिले प्रदर्शन भइरहेको छ । फिल्मले राम्रो दर्शक पाइरहको निर्माण युनिटले जनाएको छ । एक फिल्म प्रदर्शन भइरहँदा आर्यन अभिनित अर्को फिल्म ‘च च हुई’ ले पनि प्रसार सुरु गरेको छ । फिल्मले आइतबार दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रचार सुरु गरेको हो ।
सार्वजनिक फष्टलुकको दुई पोष्टरमै अभिनेता आर्यन सिग्देल अटाएका छन् । फष्टलुकमा अभिनेत्री मिरुना मगर र कलाकार भोलाराज सापकोटालाई पनि देख्न सकिन्छ । मङ्सिर ६ बाट प्रदर्शनमा आउने फिल्म रोमान्टिक कमेडी जनरामा निर्माण भएको फिल्म एजिएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा देखिँदैछन् ।
फिल्ममा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेको फिल्मको छायाँकन सुशन प्रजापतिले गरेका हुन् ।
फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।
यसपटक आफुले कमर्सियल फिल्म बनाउने कोसिस गरेको निर्देशक भुटियाले बताए । ‘फिल्म रोमान्टिक कमेडी हो । मैले निर्देशन गरेको पछिल्लो फिल्मको तुलनामा टोटल यो फरक छ’ उनले भने ‘आर्यनलाई हामीले उनलाई सुहाउने क्यारेक्टरमा प्रस्तुत गरेका छौ । दर्शकलाई उनको रोमान्टिक र कमेडी अवतार मनपर्छ ।’