
३ भदाै, काठमाडौं । कृषि क्षेत्रमा यान्त्रिकीकरणसहित आधुनिक खेती आवश्यक रहेको कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले बताएकी छिन्।
जिल्ला समन्वय समिति सुनसरीद्वारा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा राज्यमन्त्री चौधरीले मुलुक कृषिप्रधान भनिएपनि त्यसअनुरुपको काम हुन सकिनरहेको बताएकी छिन्।
कार्यक्रममा उनले भनिन्, कृषि क्रान्ति बिना मुलुकको समृद्धि अब सम्भव छैन। यसका लागि प्रविधिसहित आधुनिक कृषिको उपयोग गर्ने तर्फ सबै लक्षित हुनुपर्छ।
कृषि प्रधान देश भएरपनि उपभोग्य वस्तुमा परनिर्भर रहनुपर्ने बाध्यता अन्त्य हुन नसकेको बताइएकी राज्यमन्त्री चौधरीले यान्त्रिकीकरण सहितको आधुनिक खेतीमा जोड दिएकी थिइन्।
कृषि क्षेत्रमा केन्द्रित कृषक गरिब र विपन्न वर्गको हुने भएकाले समानता सहितको कृषि क्रान्ति बिना मुलुकलाई सम्बृद्ध बनाउन चुनौतिपूर्ण रहेको उनको भनाइ छ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले कृषि क्षेत्रमा देखिएका समस्या र चुनौतिका विषयमा सम्बन्धीत निकायमा जानकारी गराएको बताए।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सीताराम मेहता, प्रदेश नम्वर एकका सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला र प्रदेश सभा सदस्यका साथै प्रमुख जिल्ला अधिकारी सहितको उपस्थिति रहेको थियो।