
२ भदौ, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘मिसन मंगल’ले तीन दिनमै ७० करोडको व्यापार गरेको छ ।
भारतको स्वतन्त्रता दिवसको दिन बिहीबारबाट प्रदर्शनमा आएको ‘मिसन मंगल’ले तीन दिनमा बक्स अफिसमा ७०.०२ करोडको आँकडा पार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।
पहिलो दिन बिहीबार २९.१६ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शुक्रबार १७.२८ करोड र तेस्रो दिन शनिबार २३.५८ करोडको व्यापार गरेको हो।
भारतले प्रक्षपण गरेको मंगलयानको सफलता र इतिहासको कथालाई चलचित्रमा उतारिएको छ। जसमा अक्षय कुमार वैज्ञानिक राकेश धवनको भुमिकामा देखिएका छन्।
जगन शक्तिको निर्देशनमा बनेको चलचित्र मिसन मंगलमा अक्षयकुमारका साथै विद्या वालन, सोनाक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुलहरी, नित्या मेनन र शरमन जोशीको मुख्य भूमिका रहेको छ।