३१ साउन, एजेन्सी । कुनै पनि हालतमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट बाहिरिन चाहेका नेइमार त्यसका लागि आफ्नो तर्फबाट हुनेसम्मको त्याग गर्न तयार देखिएका छन् ।दुई वर्षअघि विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका ब्राजिलियन नेइमार पुनः बार्सिलोनामै फर्किन चाहन्छन् । तर त्यसमा समस्याका रुपमा आएको छ, पिएसजीले माग गरेको र बार्सिलोनाले तिर्न तयार नभएको रकम ।
नेइमारका लागि बार्सिलोनाले झण्डै ९३ मिलियन पाउण्ड तथा फिलिप कोन्टिन्हो या इभान रेकिटिक पिएसजीलाई दिने प्रस्ताव गरेको थियो । जुन प्रस्ताव पिएसजीले अस्वीकार गरेको छ । यस्तै नेइमारमा नजर बसाएको अर्को स्पेनिस क्लब रियल मड्रिडले पनि उनका लागि रकम र ग्यारेथ बेला तथा जेम्स रोड्रिग्वेजसहितका खेलाडीको प्रस्ताव गरेको थियो । सो प्रस्ताव पनि पिएसजीले अस्वीकार गरेको छ ।
नेइमार बस्न चाहँदैनन् र मन नअडेका खेलाडीलाई पिएसजी पनि रोकिराख्न चाहँदैन । तर रकममा कुरा मिलेको छैन । आफ्नो पहिलो प्राथमिकतामा रहेको टिम बार्सिलोना फर्किनका लागि नेइमारले आफूले पाउने पारिश्रमिकमा भारी कटौति गर्ने संकेत गरेका छन् । बार्सिलोना फर्किने वातावरण मिलाउनका लागि नेइमार आफ्नो पारिश्रमिक झण्डै १४ मिलियन पाउण्ड घटाउन तयार भएको बिबिसीका गुइलेम बालागुएले बताएका छन् ।
नेइमार आफ्नो पारिश्रमिक ३८ मिलियन युरोबाट २३ मिलियन युरोमा झार्न तयार र खुशी रहेको उनले बताएका छन् । लियोनल मेस्सी, जेरार्ड पिके तथा लुइस स्वारेज नेइमारलाई जसरी पनि क्लब फर्काउनु पर्ने पक्षमा छन् । यस्तै बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउ पनि त्यस्तै चाहन्छ । र अब नेइमारले पारिश्रमिकमा ठूलो कटौति गर्ने बताएपछि बार्सिलोनाले उनलाई ल्याउनका लागि भएसम्मको प्रयास गर्ने देखिएको छ ।
नेइमार दुई वर्षअघि विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी गएका थिए । लिग वानका दुई सिजनमा उनी चोटका कारण प्रभावित रहे तर उनले लिगमा ३४ गोल गरेका छन् ।