३० साउन, काठमाडौं । रसुवाको गोसाइँकुण्डमा एक युवकको ज्यान गएको छ । जनैपूर्णिमा मेला भर्न गएका युवकको बिहीबार बिहान २ बजेर ४० मिनेटमा गोसाइँकुण्ड गाउँपालिका–५, गोसाइँकुण्डको एक होटलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौं मुलपानी बस्दै आएका २३ वर्षीय दिपक ढकाल रहेका छन् । मृतक ढकालको लेक लागेर ज्यान गएको रसुवाका प्रहरी नायव उपरीक्षक भाज्ञेन्द्रपुरुष ढकालले बताउनुभयो ।
उहाँका अनुसार मृतक ढकाल लगायतको एक टोली बुधबार साँझ गोसाइँकुण्ड पुगेको थिए । ढकाललाई उकालो जाने क्रममा पनि सामान्य बिरामी रहेको उनीसँगै गएका टोलीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
राति पुनः उनको स्वास्थ्यमा समस्या आएपछि गोसाईकुण्डमै रहेको जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गतको स्वास्थ टीमले प्राथमिक उपचार गरेको थियो । तर त्यहाँको उपचारले नछोएपछि उनको बिहीबार बिहानै ज्यान गएको प्रहरी नायव उपरीक्षक ढकालले जानकारी दिनुभयो ।
समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरीले जनाएकाे छ ।