३० साउन. काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा, सुविधामा कुनै कमी हुन नदिने गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले इयूले नेपाली एयरलाइन्सलाई यूरोपको आकाशमा लगाएको प्रतिबन्ध खुलाउन आवश्यक पहल गर्ने तयारीमा सरकार लागेको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको नेपालको पर्यटन क्षेत्र प्रवर्द्धनबारे अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बनाउन सुधारको काम भइरहेको जानकारी दिनुभयो । विमानस्थलमा राम्रो व्यवस्थापन होस् भनेर जनशक्ति व्यवस्थापनदेखि सकारात्मक सोचसम्मको तालिम उपलब्ध गराइन लागेको भट्टराईले बताउनुभएको छ ।
अन्य विमानस्थल लगायत पूर्वाधार विस्तारको काम चलिरहेको भन्दै भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याइने र त्यसपछिका वर्षमा पर्यटकको संख्या क्रमशः बढ्दै जाने दाबी गर्नुभयो । भट्टराईले इयूले नेपाली एयरलाइन्सलाई त्यहाँको आकाशमा प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएको भन्दै प्रतिबन्ध खुलाउन आवश्यक पहल गरिने बताउनुभयो ।
भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारबारे पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।