३० साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’दाबी गरेका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो भनेका हुन्।
‘हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ। भुटान बनाउँछ। तथ्य हो यो,’ उनले भने। नेपालको सीमा अतिक्रमण, दशगजामा सडक निर्माण र असमान सन्धि-सम्झौता लगायतबारेमा छलफल भइरहँदा गिरीले भारतले सकेमा जेसुकै गर्ने बताए ।
‘भारतको आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिन्छ’, उनले दोहोर्याउँदै भने। नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल-भारत सिमानामा काँडेतार लाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेता नै सत्तामा रहँदा पनि केही नगरेको उनले बताए।
‘हिजो क्रान्ति गर्नेहरु नै अहिले सत्तामा रहेका छन्। तर भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरिरहेका छन्’, उनले थपे। गिरीले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत भएर समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए।
नेपालको कमजोर कुटनीति जारी रहेमा सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहल चाल्न उनले आग्रह गरे।
‘विपक्षमा रहेर कहिलै पनि त्यस्ता मागलाई उठाउनु हुँदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस्’, उनले भने, ‘कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन। सबैभन्दा ठूलो विफलता नै कुटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो ।’