
३० साउन, काठमाडौं । कतारको दोहास्थित जैदा पार्कमा मंगलबार राति भएको सांघातिक आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ ।
पाँच जना घाइते भएका छन् । कतारस्थित नेपाली दूतावासद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको हो । पाँच जना घाइतेमध्ये गम्भीर उमर अन्सारीको हमाद अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।
अरुको पनि त्यहीँ उपचार भइरहेको छ । घाइतेमध्ये इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।
घटनापछि पक्राउ परेका दुई नेपाली घाइते अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको पहलमा प्रहरीबाट हिरासतमुक्त गराइसकिएको दूतावासले जनाएको छ । दूतावासले घाइते सबै सुनसरी जिल्लावासी भएको जनाएको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।