
२८ साउन, काठमाडौं । सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ओभरहेड ब्रिज (आकाशे पुल) निर्माण गर्ने घोषणा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गर्नुभएको हो । त्यसका लागि आवश्यक डिजाइनको काम शुरु भइसकेको मन्त्री महासेठको भनाइ छ ।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालू आर्थिक वर्षभित्र काठमाडौंको सडकमा स्मार्ट लाइट व्यवस्थापन गर्ने योजना पनि अघि सार्नुभभएको छ । उहाँले त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गरिसकेको बताउनुभयो ।
मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्षभित्र सुन्दर शहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दाबी गर्नुभयो ।
महासेठले मुलुकमा रेलसेवा सञ्चालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताउनुभयो ।