२७ साउन, काठमाडौं । एक महिना लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना सहमतिका आधारमा गर्ने निर्णय गरेको छ।
स्थानीय तह पुनसंरचना हुँदा मर्ज भएका र अन्य पार्टीबाट आएका समितिहरुलाई सहमतिका आधारमा नेतृत्व चयन गर्ने निर्णय गर्दै आइतबार बसेको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसको स्थानीय तह संगठन पुनःसंरचनाको अन्तरिम निर्देशिका पारित गरेको हो।
विधानको ७२(४) अनुसार जारी भएको निर्देशिकामा पार्टीको प्रतिनिधिसभा र प्रदेशसभाका समितिहरु भदौ २० र स्थानीय तहको समितिहरु कात्तिक महिनाभित्र सहमतिका आधारमा एकीकरण गरिसक्ने उल्लेख भएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन्।
उनका अनुसार पहिला गाविस भएर अहिले गाउँपालिका वा नगरपालिकाको वडामा परिणत भएका समितिमा साविकै इकाइ सभापतिलाई नेतृत्वको निरन्तरता दिइनेछ।
त्यस्तै दुईवटा मात्र गाविस मर्ज भएर बनेका गाउँपालिका वा नगरपालिकामा दुई सभापतिमध्ये वरिष्ठलाई अवसर दिइने निर्देशिकामा उल्लेछ। सहमतिका लागि पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने र सहमति रुपमा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
त्यस्तै दुईवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र गाभिएर एउटा मात्र निर्वाचन क्षेत्र बनेका जिल्लामा साविकका दुई क्षेत्रीय सभापतिमध्ये वरिष्ठलाई प्रतिनिधिसभाको र दोस्रोलाई प्रदेश निर्वाच क्षेत्रको सभापति बनाइने भएको छ। तर दुवै सभापतिहरुको वरिष्ठता उत्ति नै भएमा गोलाप्रथाबाट छानिनेछ।
अन्य पार्टीबाट आएका कार्य समितिका सदस्यलाई बन्न लागेको अन्तरिम संरचनामा पदाधिकारीको जिम्मेवारी अनिवार्य रुपमा दिनुपर्ने निर्णय केन्द्रीय समितिले गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अघि तत्कालीन फोरम लोकतान्त्रिक कांग्रेसमा मर्ज भएको थियो।