
ओस्लो, नर्वे । युरोपेली देश नर्वेको राजधानी ओस्लोमा ड्राइभरबिनाका बस देखिन थालेका छन्।
रुटर कम्पनीले ओस्लोमा स्वचालित बस परीक्षणका रुपमा सञ्चालनमा ल्याएको हो। ओस्लो सहरको सिटी हलबाट समुद्री किनार हुँदै भिपिटागेन बस बिसौनीसम्म यी बस दैनिक सार्वजनिक यातायातका रुपमा चल्छ। यी बस गत मे २० देखि सञ्चालनमा आएका हुन्। अहिले परीक्षणका रुपमा दुईवटा बस सञ्चालनमा आएका छन्।
ड्राइभरबिनाका बस सञ्चालन गर्नुका मुख्य तीन उद्देश्य रहेको रुटर कम्पनीले उल्लेख गरेको छ। उपभोक्ता र बजारलाई नयाँ प्रविधिसँग परिचय गराउनु र उनीहरुलाई यसको अनुभव दिलाउनु यसको मुख्य उद्देश्य हो। कसरी स्वचालित सवारी साधनहरु सार्वजनिक यातायातको महत्वपूर्ण अंश हुन सक्छन् र कसरी यस्ता यातायात सेवाले उपभोक्तालाई थप सहज बनाउन सक्छ भन्ने बुझाउनु पनि यस्ता बस सञ्चालनको उद्देश्य हो।
नयाँ प्रविधिको तयारी, विकास र बिक्री गर्नु पनि रुटरको उद्देश्य हो।
यही वर्षभित्रै ओस्लोलाई युरोपेली हरित सहरका रुपमा विकास गर्न यस्ता योजनाहरुले सघाउनेछन्। हाल यस्ता बसले सडकको वातावरण, जेब्राक्रस, घुम्ती, सडक लेनलगायतको अध्ययन गरिराखेको रुटरले जानकारी दिएको छ।
यसभित्र भएको स्क्रिनमा जाने ठाउँको ठेगाना लेखेर ‘गो’ थिचेपछि बस अगाडि बढ्छ। बस बिसौनी आएपछि बस आफैँ रोकिन्छ र ढोका खुल्छ। त्यसपछि मानिस ओर्लने र चढ्ने गर्छन्।
बसमा ड्राइभर नभए पनि एक सहयोगी राखिएको छ।
ती सहयोगीले यात्रुलाई सुचना दिने, आवश्यक परेको सहयोग गर्ने र यात्रुलाई सुविधायुक्त अनुभव गराउने गर्छन्।
ड्राइभरसहितको बसले जस्तै यस्ता बसले पनि बाटोमा मानिस आउँदा हर्न बजाउने, ‘स्पिड ब्रेकर’मा गति कम गर्ने, आफ्ने ‘लेनमा’ मात्र गुड्ने, घुम्तीमा गति कम गर्ने, ‘ओभरटेक’ गर्नेजस्ता सडक नियम पालना गर्छ। बसले खालि बाटोमा गति बढाउँछ भने भिडभाडमा बिस्तारै कुद्छ।
यो बस विद्धुतबाट चल्छ। वातावरण मैत्री भएको हुँदा यसलाई सहरका अन्य केही ठाँउमा बिस्तार गरिने सञ्चालक कम्पनी रुटरले जानकारी दिएको छ।