
काठमाडौं । समिम मियाँ अन्सारी बिहीबार साँझ ना६ख७४६९ सृष्टि डिलक्स चढेर व्यापारका सामान खरिद गर्न काठमाडौं जाँदै थिए । उनी सर्लाहीको मंलगवा–३ का स्थानीय व्यापारी हुन । सदरमुकाम मलंगवाबाट ४० जना यात्रु बोकेर छुटेको गाडीमा हरिपुर नगरपालिकाबाट दुई यात्रु थपिए । १४ किमि वर हरिवनसम्म सवारीधनीले नै बस चलाए ।
हरिवनस्थित पेट्रोलपम्पमा तेल हालेपछि भने चालक जीवन विकले हाँक्न थाले । ‘बिहानीपख बस तीव्र गतिमा गुडिरहेको थियो, सायद म मस्त निदाएको थिएँ क्यारे,’ समिमले त्यो क्षण सम्झिए, ‘एक्कासि गड्याङगुडुङ आवाज आयो । के भयो, केही मेसो पाइनँ । आँखा खुल्दा पानीमा डुबिरहेको थिएँ । बसबाट बाहिर उछिट्टिसकेको रहेछु । ’
गर्मी भएकाले उनले झ्यालको सिसा खुलै राखेका थिए । ‘खुला झ्यालका कारण आफू मात्र उछिट्टिएको होला, के भइरहेछ भनेर सोच्नसमेत नभ्याउदै पानीले बगाउन थाल्यो,’ उनले सुनाए ‘मलाई पौडन आउँथेन तैपनि हातखुट्टा चलाइरहे । केही घुटको बालुवा पानी खाइसकेको थिएँ । बगेर करिब एक सय मिटर तल पुग्दा किनारा भेटें । अकस्मात रुखको बटुयान समातें र गुहार माग्दै चिच्याउन थालें । केहीबेरमा प्रहरी आएर अस्पताल पठाए ।’
समिमले के भएको भनेर पत्तो नपाउँदै उनी चढेको सृष्टि डिलक्स शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खसिसकेको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या साँझसम्म ६ पुगेको छ । २३ जना बेपत्ता छन् । उद्धार गरिएका १६ जनाको धादिङ र काठमाडौंमा उपचार भइरहेको छ । मृत्यु भएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मी तथा कन्डक्टर ऋषि उप्रेतीको मात्र सनाखत हुन सकेको छ ।