‘संसद अवरुद्ध नहुने गरी प्रतिवेदन बन्छ’

काठमाडौं । संसदीय विशेष समितिका संयोजक सुवासचन्द्र नेम्वाङले संसद बैठक अवरुद्ध नहुने गरी अध्ययन प्रतिवेदन तयार पारी संसदमा पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सत्तारुढ नेकपा संसदीय दलका उपनेता समेत रहनु भएका संयोजक नेम्वाङले संविधान, नियम र स्थापित परम्परालाई समेत ध्यानमा राखेर संसद अवरुद्ध नहुने गरी आवश्यक सुझाव संसदमा पेश गर्ने गरी प्रतिनिधिसभाले आफू नेतृत्वको विशेष समितिलाई कार्यादेश दिएको स्पष्ट पार्नु भयो ।

संघीय संसदको प्रतिनिधि सभाले प्रतिनिधिसभा भइरहेको अवरोधका सम्बन्धमा र आगामी दिनमा त्यसो हुन नदिने गरी आवश्यक सुझाव दिन ३० दिनको म्याद सहित नेम्वाङको नेतृत्वमा काँग्रेस सचेतक पुष्पा भुसाल र नेता मिनेन्द्र रिजाल, नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र विन्दा पाण्डे, सत्ता साझेदार समाजवादी पार्टी, नेपालका उमाशंकर अरगरिया र राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्ण सदस्य रहनु भएको ७ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । समितिले तोकिएको समयभित्र फेरि संसद बैठक अवरुद्ध नगर्ने गरी आवश्यक अध्ययन प्रतिवेदन संसदमा पेश गर्ने समितिका संयोजक नेम्वाङले बताउनु भयो ।

कांग्रेस सचेतक एवं समितिकी सदस्य पुष्पा भुसालले सर्लाही घटनाका सम्बन्धमा समितिले अध्ययन प्रतिवेदन तयार पारी संसदमा पेश गरेर सरकारलाई आवश्यक निर्देशन दिने बताउनु भयो । उहाँले सरकारलाई संसदप्रति जवाफदेही बनाउन समिति उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

समितिका अर्का सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले संसद फेरी अवरुद्ध हुन नदिन आवश्यक सुझाव दिन सो समिति गठन गरिएको स्पष्ट पार्नु भयो । उहाँले सो समितिले सर्लाही घटना र गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनबारे पनि अध्ययन गरी संसदमा प्रतिवेदन पेश गर्ने विश्वास  व्यक्त गर्नु भयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सर्लाहीमा गैरन्यायिक हत्या राज्यपक्षबाटै गरिएको दाबी गर्दै छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए । अवरुद्ध हटाउने क्रममा पूर्व सभामुख समेत रहनु भएका नेम्वाङको नेतृत्वको अब फेरि संसद बैठक अवरुद्ध हुन नदिने गरी सुझाव दिन सर्वदलीय संसदीय विशेष समिति गठन गरिएको हो । समितिले मंगलबारबाट कार्यविधि तय गरी आफनो कामलाई अघि बढाउने पनि संयोजक नेम्वाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार