४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्‍न, २ लाख १४ हजार बन्दै

काठमाडौं । २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिइ घर निर्माण सम्पन्‍न गरेका छन्। थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन्।

पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो।अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताउनुभयो। ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ-उनले भने।

प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन्। तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ।

आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन्। त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन्। त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन्। धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन्।

कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ। कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार