
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्न नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष थापाले शनिबार विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताउनुभएको हो ।
ठूला पार्टीका नेताले निर्वाचनमा विदेशीको पैसाले लिने गरेको उहाँको आरोप छ । ‘आफूलाई प्रमुख भन्ने ठूला पार्टीले आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन्’ उहाँले भन्नुभयो, ‘जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमान पूर्वक काम गर्न सक्दैन । जुन बाटोमा कांग्रेस र कम्युनिष्टले १३ वर्षदेखि मुलुकलाई हिडाइराखेका छन् । त्यो बाटो गलत छ ।’
अध्यक्ष थापाले सरकार परिवर्तन गर्दैमा समस्या समाधान नहुने उल्लेख गर्नुभयो । ‘केपी ओलीलाई प्रधामन्त्रीबाट हटाएर प्रचण्ड वा शेरबहादुर ल्याएर समस्याको समाधान हुदैन’ उहाँले भन्नुभयो, ‘जबसम्म बाटो परिर्वतन हुदैन तबसम्म ड्राईभर मात्रै फेरेर गन्तव्यमा पुग्न सकिँदैन । बाटो नै फरक छ भने ड्राईभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ ।’
अध्यक्ष थापाले राजनीतिमा राप्रपा अन्य पार्टी भन्दा फरक रहेको बताउनु भयो । ‘हामी कांग्रेस र कम्युनिष्टका भाइ पार्टी होइनौ’ उहाँले भन्नुभयो ।