बलात्कार आरोपबाट मुक्त भए नेइमार

काठमाडौं । स्टार खेलाडी नेइरमा बलात्कार आरोपबाट मुक्त भएका छन् । पर्याप्त प्रमाणको अभावमा नेइमारमाथि लागेको बलात्कार आरोपका सम्बन्धमा अनुसन्धान अघि बढाउन नसकिएको ब्राजिलको प्रहरीले जनाएको छ ।

नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोकी एक महिलाले आफूमाथि यौन हिंसा भएका भन्दै उजुरी दिएकी थिइन् । पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप ती महिलाको थियो ।

नेइमारलाई इन्स्टाग्राम मार्फत चिनेको बताउने नाजिला ट्रिन्डाडी नामकी ती महिलाले नेइमारकै आग्रहमा पेरिसमा आफूहरुको भेट भएको बताएकी थिइन् ।

नेइमारले नै फ्रान्सका लागि विमान टिकटको व्यवस्था गरेको र उनका लागि होटल साफिटेल पेरिसमा कोठा बुक गरिदिएको पनि उल्लेख गरिएको थियो । घटना गएको मे १५ को रहेको उल्लेख गरिएको थियो ।

नेइमार होटल आइपुग्दा रक्सीले मातेको अवस्था रहेको ती महिलाले आरोप लगाएकी थिइन् । केही गफगाफ र असहज वातावरणपछि नेइमार आक्रोशित बनेको र आफ्नो इच्छा विपरित यौन सम्बन्ध कायम गरेको ती महिलाले आरोप लगाएकी थिइन् । ती महिला दुई दिनपछि ब्राजिल फर्किएकी थिइन् ।

उनले आरोपित घटनाका बारेमा फ्रेन्च प्रहरीमा उजुरी दिएकी थिइनन् । महिला भावनात्मक रुपमा विक्षिप्त अवस्थामा रहेको र अर्को देशमा घटना दर्ता गर्न डराएकाले ब्राजिलमै गरिएको प्रहरी उजुरी दर्ता गर्दाको कागजातमा उल्लेख गरिएको थियो ।

घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको साओ पाओलो प्रहरीले नेइमारमाथिको आरोपका सम्बन्धमा आवश्यक प्रमाण नपुगेकाले अनुसन्धान बन्द गरिएको र नेइमार आरोपबाट मुक्त भएको बताएको छ । प्रहरीले आफ्नो अनुसन्धान निष्कर्ष अदालतमा बुझाउने छ । न्यायाधीशले यो घटनाका सम्बन्धमा १५ दिनपछि फैसला गर्ने छन् ।

नेइमारले आफूमाथि आर्थिक स्वार्थका कारण वकिलहरुको मिलेमतोमा आरोप लगाइएको भन्दै बलात्कारका सम्पूर्ण आरोप अस्वीकार गर्दै आएका छन् ।

यो घटनाले विशेष गरी ब्राजिलमा निकै चर्चा पाएको छ । नेइमारले आफू निर्दोष रहेको भन्दै इन्स्टाग्राममा सात मिनेट लामो भिडियो सन्देश जारी गरे । यस्तै ती महिलासँगका ह्वाट्सएप म्यासेजहरु पनि जारी गरेका थिए ।

आरोप लगाउने महिला त्यसपछि टेलिभिजन अन्तर्वार्तामा गइन् । उनले सो अन्तर्वार्ताको क्रममा आफूले नेइमारसँग यौन सम्बन्ध कायम गर्न चाहेको तर बलात्कारमा परेको बताएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार