
काठमाडौं । मोरङको रंगेलीमा सुस्तमनस्थितिकी किशोरी बलात्कृत भएको घटना पैसाको लेनदेन गरी दबाउने प्रयास भएको छ। प्रहरीले घटनाका बारेमा थाहा पाएपछि लेनदेन रोकिएको हो।
१६ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार गरेको घटना २४ दिनसम्म पीडित पक्षलाई लेनदेनको लोभ देखाएर गुपचुप राखिएको हो। गाउँका अगुवा र भद्रभलाद्मीले बलात्कारपीडित बालिकाका परिवारलाई एक लाख ५० हजार रुपैयाँ दिने भन्दै ढाकछोपको प्रयास गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिनुभयो ।
घटना गत असार २० गतेको हो। किशोरीलाई रंगेली नगरपालिका ९ का २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रीन्स अधिकारी र २३ वर्षीय सुनिल चौधरीले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
घटनापछि गाउँमा छलफल बोलाइएको र पैसा लेनदेन गरेर घटना गुपचुप राख्ने भनेर कागज समेत गरिएको कार्कीको भनाई छ। पैसा लेनदेन हुनुअघि नै थाहा पाएका कारण अनुसन्धानको दायरामा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
घटनामा संलग्न मध्ये मगर र अधिकारी पक्राउ परेका छन्। चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ। पीडितलाई एक संस्थाको संरक्षणमा राखिएको छ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।