काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
काँग्रेस सांसद कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई फेरी सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने गरी बर्खास्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नु भएको हो । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सर्तको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा उहाँले कर्मचारीलाई कार्यालय समयमा मदिरा सेवन गर्न निषेध नै गर्न उपयुक्त हुने तर्क गर्नुभयो ।
सेवाग्राहीलाई सेवा दिन बसेको कर्मचारीले मदिरा सेवन गरेर कार्यालयमा काम गर्न नसक्ने हुनाले उसलाई सेवाबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।