
काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता बिहीबार निराश भएका छन् ।
शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.१५ अङ्कले घटेर एक हजार २ दुई सय ६९.९२ मा पुगेको छ । प्रतिशतका आधारमा बिहीबार परिसूचक १.१० प्रतिशतले घटेको हो ।
ठूला कम्पनीका शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि २.६६ अङ्कले घटेर २ सय ७३.४७ मा पुगेको छ ।
परिसूचक ओरालो लागे पनि कारोबार रकम भने सुधार देखिएको छ । कूल १ सय ७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता शेयर ५५ करोड पाँच लाख ३२ हजार १ सय ४६ मूल्यमा खरीद बिक्री भए ।