
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनबारे औंपचारिक छलफल शुरु गरेको छ । वर्षातपछि स्थगित केन्द्रीय कार्य समितिको पार्टी मुख्यालय सानेपामा जारी बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने व्यवस्थासहितको विधान मस्यौदामाथि छलफल भएको हो ।
पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सन्दर्भमा केन्द्रिय कार्य समितिको बैठकमा औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । उपसभापति विजयकुमार गच्छदार र नेता महेश आचार्यलगायतले प्रस्तावमाथिको छलफलमा भाग लिनु भएको प्रवक्ता शर्माले बताउनु भयो ।
कांग्रेसको जेष्ठ २२ गतेबाट शुरु भएको केन्द्रिय कार्य समिति बैठकले यस अघि नै पार्टीको नियमावली पारित गरिसकेको छ । बिहीबार शुरु भएको बैठकमा पार्टीको आसन्न महाधिवेशनको कार्ययोजना तय गरी प्रक्रिया अघि बढाउने विषय प्रवेश गराइएको छ । १४ वटा एजेन्डा तय गरी जारी केन्द्रिय कार्य समिति बैठकमा पार्टीको विभाग, निकाय, भातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताउनु भयो ।