
काठमाडौं । धनकमल गुरुङ खच्चड व्यवसायी हुन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा उनको व्यवसाय छ । उनी होटल पनि चलाउँछन् । गुरुङको व्यवसाय खच्चड र होटल मात्र रहेनछ, उनी त अवैध सुन कारोबारी पनि रहेछन् ।
प्रहरीका अनुसार उनको साथबाट १६ किलो सुन बरामद गरेपछि उनको अवैध धन्दा बाहिर आएको हो । असार ११ गते राति गुरुङ आफ्ना गोठालासहित बेसी झर्दै थिए । गोठालाले मालिकले सुन ल्याएको सुराकी केही युवालाई दिए । सुन ल्याइरहेका गुरुङमाथि आक्रमण भयो । धनकमल खच्चडको भारी फुकाएर आक्रमणकारीबाट बाच्न सफल भए । उनले सुन पनि लुकाउन भ्याए ।
आक्रमणको घटनाबारे माछाखोला प्रहरी चौकीमा जानकारी भएपछि प्रहरी घटनास्थलमा पुग्यो । आक्रमणकारी भागे । धनकमल पनि फरार भए । भाग्दै गरेका आक्रमणकारीमध्ये तीनजना गुम्दाबाट पक्राउ परे भने अन्य ६ जना फरार छन् । १६ किलो सुनसहित एक महिनादेखि फरार धनकमललाई प्रहरीले बिहीबार धार्चे गाउँपालिका–३ बाट पक्राउ गरेको छ। प्रहरीका अनुसार खोर्लाबेसीको जंगलको ओढारमा लुकाई–छिपाई राखेको १६ किलोग्राम सुन पनि बरामद गरिएको छ ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।