
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाले मदिरा कारोबार बन्द गर्ने मदिरा व्यापारीलाई १ लाख रकम पुरस्कार दिने भएको छ । मदिराका कारण समाजमा विकृति फैलदै गएको भन्दै गाउँ कार्यपालिकाले यस्तो निर्णय गरेको उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।
उनले यदि कोही मदिरा व्यापारीले मदिराको कारोबार रोक्छु भनी गाउँपालिकामा लाइसेन्स बुझाएमा गाउँपालिकाका तर्फबाट १ लाख र आफ्नो व्यक्तिगततर्फबाट थप २० हजार रकम गरी जम्मा १ लाख २० हजार दिने बताइन् ।
मदिराका कारण खासगरि महिला हिंसाका घटनाहरु बढेका उपाध्यक्ष कार्कीले बताइन् । उनले भनिन्, ‘ आफ्नै पतिले मदिरा सेवन गरि कुटपटि गर्ने गरेका धेरै घटनाहरु लिएर स्थानीय महिलाहरु आउछन्, तर पतिको नाममा उजुरी देउ भन्दा मान्दैनन्, डराउछन् उपाध्यक्षले जसरी मिलाउने हो मिलाउ हामी आफ्नै पतिको नाममा कसरी मुद्दा हाल्ने भनेर भन्छन्, अब मैले कसरी मिलाउँ ? । राजधानी दैनिकले खबर छापेको छ ।