काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्लबका अध्यक्ष गोविन्द विकले संस्थाकी सचिव गीता थापासँग विवाह गरे । दुवैको उमेर १७ वर्ष छ ।
भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस जाने भन्दै गोविन्दसँग भागिन् । अहिले उनीहरु गाउँ छोडेर बसाइँ सरेका छन् । गोविन्द कक्षा १० र गीता उच्च माविमा अध्ययनरत थिए ।
जिल्लास्तरीय किशोरी क्लबकी अध्यक्ष बबिता खत्रीको पद सम्हालेको एक साता नबित्दै बिहे गरिन् । उनी १८ वर्षकी छन् । गत वैशाखमा बैजनाथ गाउँपालिका–६ की १५ वर्षीया जानकी पुन र १६ वर्षीय हीराबहादुर पुनले भागी विवाह गरे । कक्षा ९ मा अध्ययनरत जानकी किशोरी क्लबमा बसेर बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएकी थिइन् ।
तीन दिनपछि उनीहरुलाई प्रहरीको रोहबरमा परिवारको जिम्मा लगाइयो । गत असारमा बैजनाथ–३ की १५ वर्षीया बालिकाले आफूखुसी बिहे गरिन् । त्यसको १५ दिनपछि घरमा किचलो शुरु भयो । बालविवाहविरोधी अभियन्ताले घरै पुगेर छुटाए । ती बालिका पनि बाल क्लबमा सक्रिय थिइन् ।
बैजनाथ–१ की गीता बुढा १५ वर्षकी भइन् । उनी ८ कक्षामा पढिरहेकी छन् । त्यहीँका धनबहादुर शाही १९ वर्षका भए । दुवैले भागेर विवाह गरे । शाही वैदेशिक रोजगारीमा गएपछि परिवारले गीतालाई फर्काएर ल्यायो । बैजनाथ–६ मा सँगै एसईई परीक्षा दिएको एक जोडीले बिहेको तयारी गरेको थियो ।
मितिसमेत छिनिइसकेको अवस्थामा गाउँका सामाजिक अभियन्ताले थाहा पाए । उनीहरूले १६ वर्षीया ती किशोर–किशोरीको बिहे रोक्न प्रहरीलाई खबर गरे । प्रहरीले तत्काल बिहे नगर्ने सर्तमा उनीहरूलाई घर फिर्ता पठायो । बैजनाथ–१ चिसापानीकी १८ वर्षीया सुशीला बुढाले गत चैतमाविवाह गरिन् ।
अभिभावक सचेत भए पनि उमेर नपुग्दै बालबालिकाले भागेर बिहे गर्न थालेको बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बताए । ‘क्लबमा सक्रिय बालबालिका र किशोर–किशोरी भाग्ने गरेका छन्,’ उनले भने, ‘जसलाई जे नगर भनेर सिकायो, त्यही काम गर्दा नराम्रो सन्देश गएको छ ।’
आफूखुसी बिहे गरेर गएकालाई छुटाउन मुस्किल हुने गरेको सरोकारवालाको अनुभव छ । ‘कानुनको सहारा लियो मर्ने र मार्ने धम्की दिन्छन्,’ सामाजिक अभियन्ता नेत्रकला शाहीले भनिन्, ‘बालविवाह रोक्न चुनौती छ ।’ उनका अनुसार १६ वर्षमुनिको विवाह रोक्न अभिभावकले साथ दिने गरेका छन् । ‘तर १६ वर्षभन्दा माथिको बालविवाहलाई अभिभावक रोक्न चाहँदैनन्,’ उनले भनिन् ।
अभियानमा लागेका बालबालिकाहरू प्रेममा परेर विवाह गरेको बताउँछन् ।, कान्तिपुर दैनिकले समाचार छापेको छ ।