
काठमाडौं । वडाध्यक्षकै रोहवरमा भएको छलफलका क्रममा घाइते भएका विराटनगर–१४ का ५५ वर्षीय शर्मानन्द यादवको उपचारका क्रममा मृत्यु भएको छ । छोराको विवाहको विषयमा ३२ जेठमा भएको छलफलका क्रममा उनी घाइते भएका थिए ।
उनको नेपालमा उपचार सम्भव नभएपछि भारत लगिएको थियो । त्यहाँबाट कोशी अञ्चल अस्पताल ल्याइएका उनको शुक्रबार मृत्यु भएको हो ।
के हो घटना
मृततका आफन्तहरुका अनुसार शर्मानन्दका छोरा राजेशकुमार यादवसँग विवाह गर्नका लागि विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवले जेहदा गाउँपालिकाकी एक युवतीको प्रस्ताव ल्याएका थिए । ती युवती बलदेवको नातेदार हुन् । शुरुमा शर्मानन्दले यस प्रस्ताव स्वीकारेका थिए । तर, राजेशकुमारले मानेनन् ।
३२ जेठमा बलदेवले छलफलका लागि बोलाए । छलफलमा विराटनगर–१८ का वडाध्यक्ष सञ्जय शाह, जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपनन्द यादव तथा बलदेवका आफन्तहरु उपस्थित थिए । शर्मानन्दले छोराले नै प्रस्ताव अस्वीकार गरेकाले आफूले केही गर्न नसक्ने बताए । त्यसपछि आक्रोशित युवतीका आफन्तहरुले उनीमाथि कुटपिट गरेका थिए ।, नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।