गगनको आरोप ‘संसद सरकारको छायाँमा सिमित भयो’

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रुपमा सिमिति हुँदै गएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै थापाले सरकारको छायाँको रुपमा सिमिति भएको संसदका सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको हो । प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुशरण गरेको टिप्पणी उहाँले गर्नुभयो । संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने थापाको भनाइ छ।

‘एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छाँयाको रुपमा सिमिति रहेको छ, सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन । संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिन प्रतिदिन हाम्रो बिश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ’, थापाले भन्नुभयो, ‘जबसम्म संसदीय छानविन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहँदैन, सरकार यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ ।’

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी सांसद थापाले गर्नुभयो ।

‘संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरुले हामी तयार छैनौं भन्नुभयो’, थापाले भन्नुभयो, ‘कानुन मन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो । कम्तिमा हामी एकजना सांसदले कुरा राख्छौ भन्दा कुरासमेत राख्न नदिने ? किन कि सरोकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाहिँ आदेश पालना गरे जस्तो भयो ।’

सर्लाहीका दुई भिन्न भिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविश्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर संसदीय छानविन समिति गठनको माग गरेको थापाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार