
काठमाडौं । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ। मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो।
घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन्। उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन्।
बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृत्यु भएको खड्काका भाइ कमलले बताए।
मृतक खड्का ६ वर्षदेखि उक्त अपार्टमेन्टमा काम गर्थे। पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो। राति करिब २ बजेतिर भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन्।
तीनैजनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ। कमलका अनुसार खड्काका बाबुआमा घटनाबारे थाहा पाएलगत्तै अचेत छन्। उनीहरू पनि रोजगारीका क्रममा बैंगलोरमै थिए। मृतकका बाबुआमा पनि भत्किएको भवननजिकै अर्को भवनमा काम गर्थे।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।