
काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । मलेसियामा जारी खेलमा हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि रित गुरुङ १३, पवन सराफ ३९, खडकबहादुर बोहरा ८, रोहित कुमार पौडेल १२ रन बनाएर पेभेलियन फर्कँदा भीम सार्की ८ र हरि बहादुर चौहान विना रन नटआउट रहे ।
बलिङतर्फ हङकङकका रौनक कपूले दुई तथा मोहम्मद हसन खान र मोहम्मद हससले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो । हङकङका लागि कप्तान अदित गोरावाराले सर्वाधिक २४ रन बनाए । यस्तै कलहान मार्सी छल्लुले १९ तथा रौनक कपूरले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहारो अंकमा रन बटुल्न सकेनन् ।
हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए । यस्तै कमल सिंह ऐरीले तीन तथा तिलकराज भण्डारी र कुशल मल्लले समान एक–एक विकेट लिए ।
विजयी भएसँगै नेपालले एसिया कपमा स्थान सुरक्षित गरेकाे छ । नेपालले एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।