काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण छिट्टै सुरु हुने भएको छ ।
बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माणका लागि मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भयो । पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता हुनुलाई सुखद् पक्ष भन्दै रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्ने बताउनु भयो ।
रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ ।