
काठमाडौं । प्रधानमन्त्री केपी ओली पछिल्लो समय आफ्ना अभिव्यक्तिहरुका कारण चर्चामा हुनुहुन्छ । उहाँले दिनुभएका अभिव्यक्तिबारे पक्ष र विपक्षमा तर्क भइरहेका छन् ।
उहाँका अभिव्यक्तिले सामाजिक सञ्जालमा पनि गतिलै तरङ्ग पैदा गर्ने गर्छ । केहीदिन अघि मात्र काठमाडौंमा मास्क लगाउनुपर्ने अवस्था छैन भन्ने अभिव्यक्तिका कारण चर्चामा आउनुभएका प्रधानमन्त्री ओली शुक्रबार पार्टी कार्यालयमा दिएका विभिन्न अभिव्यक्तिका कारण फेरि एकपटक चर्चामा हुनुहुन्छ ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले दिनुभएका अभिव्यक्तिहरुको टुक्राटुक्रा भिडियाे फुटेज अहिले सामाजिक सञ्जालमा भेटिन्छन् । शुक्रबारको सम्बोधनमा उहाँले मास्क लगाएर सरकारको विरोध गर्न थालिएको अभिव्यक्तिदेखि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई गरेको कटाक्षले सामाजिक सञ्जाल गर्माएकाे छ ।
शुक्रबारको सम्बोधनमा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईतर्फ इंकित गर्दै डिग्रीको घमण्ड नगर्न आग्रह गर्नुभएको छ । क्रान्ति डिग्रीले नभइ निष्ठा र दृष्टिकोणले हुने ओलीको भनाइ छ । उहाँले भन्नभुयो, ‘नेपालमा डिग्री गरेका थुप्रै छन्, एकजनाले मात्र पिएचडी गरेको जस्ताे डाक्टर डाक्टर डाक्टर…, त्यसैले धोका दियो ।’ यति भन्दै गर्दा प्रधानमन्त्री ओलीले भ्यागुताकाे कथा पनि जोड्न भ्याइहाल्नुभयो ।
‘एउटा भ्यागुताको बच्ची घुम्न जाँदा माछा देखिछन् र आएर आमालाई भनिछन्, मैले त धेरै ठूलो जनावर देखेँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आफूभन्दा ठूलो कोही पनि हुन नसक्ने घमण्ड गर्दै भ्यागुतीले बच्चीलाई आफ्नो भुँडी फुलाएर देखाइन्, तर बच्चीले अझ ठूलो भनेपछि फेरि भुँडी फुलाइन् तर बच्चीले अझै ठूलो भनेपछि भ्यागुतीले जोडले भूँडी फुलाउँदा उसको भुँडी नै फुट्यो, हाे अहिले भएको त्यस्तै हो ।’
प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले पनि सामाजिक सञ्जालमार्फत कडा जवाफ दिनुभएको छ । ओलीले भ्यागुताको कथासँग भट्टराईको तुलना गर्दैगर्दा उहाँले पनि प्रधानमन्त्री ओलीलाई राजज्योतिषीको कथासँग तुलना गर्नुभएको छ । ट्वीटरमा प्रधानमन्त्री ओलीले बोलेको भिडियो सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईले राजज्योतिषीको कथाले अझ ठूलो हाँसो फुट्थ्योकी भन्दै व्यङ्ग गर्नुभएको छ । सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले राख्नुभएको अभिव्यक्ति जस्ताको तस्तैः
हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ ! त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि ? कथा यस्तो छ– निदुली बाहुन साँझमा ससुराली पुगेछन् ।
सासूभित्र सेलरोटी पकाउँदै रहिछन् । ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन् ! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् ! ज्वाइँले भनेछन्(‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार ?’ ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन् । गाउँमा धोबीको गधा हराएको रहेछ । धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन् ! अब पर्यो फÞसाद ! भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँले टाप कसेछन् । भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् !
के खोज्छस् दृष्टिविहीन,आँखा ! ज्वाइँ ससुराली घर फर्केर सुतेछन् ! भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन् ! अब के चाहियो ? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ । राजाले दरबारमा बोलाएछन् र हराएका हीरा–जवाहरत पत्ता लगाउन भनेछन् । बस्न कोठा दिएछन् ! अब पर्यो महाफसाद ! भागौं,पहरा छ !
कोठामै बर्बराएछन्– ‘रोटी गनीगनी जैसी कहाएँ, धोबीको गधा उखुवारी पाएँ, अब आयो निदूली तेरै काल !’ पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ ! उसको नाउँ पनि निदूली रहेछ ! उसले रूँदै आएर भनिछ– ‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकी छु ।’ निदूली राजज्योतिषी बनेर धनधान्य भएछन !
अब आफैँ बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो !