काठमाडौं । ‘पानी’ त हो नि भनेर जथाभावी खर्च नगरौं है, अब अनावश्यकरुपमा पानी पोखदा हामी सबै तीन महिनादेखि एक वर्षसम्म जेल बस्नुपर्ला नि !
त्यति मात्र हो र पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ला ! संसद सचिवालयमा दर्ता भएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ मा यस्तो व्यवस्था राखिएको छ । खानेपानीमन्त्री बिना मगरका अनुसार स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ प्राप्त गर्ने नागरिकको मौलिक अधिकारीको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गुणस्तरीय खानेपानी र सरसफाइ सेवा सहज बनाउन उक्त विधेयक ल्याइएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
विधेयकको दफा ५ मा पानीको स्रोत तथा मुहनाको संरक्षणसम्बन्धी व्यवस्था छ, जसको संरक्षण नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा हुने उल्लेख छ ।