
काठमाडौं । अमेरिकी सहयोगमा मुस्ताङमा गुम्बा जिर्णोद्वार सुरु भएको छ। राजदूत र्यान्डी बेरी र गण्डकी प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले मुस्ताङको झोङ गाउँमा रहेको १६औँ शताब्दीको झोङ छोदे शेडूप छोपेल लिङ गोम्पा (झोङ गुम्बा) जीर्णोद्धार परियोजनाको सुरुवात गरे।
यो गुम्बा ०७२ को भूकम्पबाट क्षति पुगेको थियो। गुम्बा निर्माणका लागि दूतावासले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) मार्फत १ लाख अमेरिकी डलर रकम योगदान गरेको छ। झोङ गुम्बा व्यवस्थापन समितिले २३ हजार ६८१ अमेरिकी डलर रकम बेहोर्ने बताइएको छ। हेरिटेज एण्ड इन्भाइरोमेन्ट कन्जर्भेसन फाउन्डेशन नेपाल (एचईसीएफएन) ले जीर्णोद्धारको काम सन् २०२० को सेप्टेम्बरसम्म सक्ने बताएको छ।
स्थानीय समुदाय तथा झोङ गुम्बा व्यवस्थापन समितिसँग परामर्श गर्दै एचईसीएफएनले उक्त संरचनालाई भूकम्पीय दृष्टिले बलियो बनाउनुका साथै गुम्बाभित्र रहेका शताब्दीऔं पुराना चित्रकलाको समेत जगेर्ना गरिने छ।
परियोजनाले स्थानीय कारिगरलाई काममा लगाउने छ। निर्माणपछि गुम्बा मर्मतसम्भारका लागि लागि स्थानीय युवालाई तालिम दिने दूतावासको तयारी छ। ‘सांस्कृतिक संरक्षणको क्षेत्रमा नेपालसँगको हाम्रो साझेदारी हामीबीचको आपसी मित्रताको ठोस प्रतिक हो। यसले नेपालको विविध र समृद्ध सम्पदाप्रतिको हाम्रो सम्मान दर्शाउँछ’ राजदूत बेरीलाई उद्धृत गर्दै दूतावासले जनाएको छ, ‘जीर्णोद्धारले यस्ता संरचनाको संरक्षण गर्ने स्थानीय सामुदायिक
प्रयत्नलाई सहयोग गर्नुका साथै भावी पुस्तालाई हिमालयन संस्कृतिका यस्ता अनुपम, अमूल्य निधिको हेरचाह गरिरहन हौसला प्रदान गर्नेछ।’ विकासोन्मुख देशमा सांस्कृतिक सम्पदाको संरक्षणार्थ प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउने एएफसीपी अमेरिकाको एक मात्र सरकारी कार्यक्रम हो। सन् २००३ यता अमेरिकी दूतावासले नेपालमा सांस्कृतिक संरक्षणका अन्य २४ परियोजनालाई सहयोग गरी ३३ लाख ७० हजार अमेरिकी डलर खर्च गरेको छ।
नेपालमा एएफसीपी परियोजनाअन्तर्गत उपल्लो मुस्ताङमा प्राचीन बौद्ध छोर्तेनहरू, हुम्लामा ११औँ शताब्दीको रिन्चेन्लिङ गुम्बा, र काठमाडौंमा ऐतिहासिक गद्दी बैठकको जीर्णोद्धार गरिएको छ।