संयोग नेपाल
काठमाडौं । दुई साता अघि युट्युबमार्फत सार्वजनिक ‘गलबन्दी’ बोलको गीत अहिले चर्चामा छ । मौलिकपन झल्कने भनी चर्चा पाएको गीतलाई अहिले चोरीको आरोपका कारण चर्चामा छ ।
सामाजिक सञ्जालमा गीत चोरी भएको भन्दै प्रकाश सपुतको आलोचना पनि हुन थालिसकेको छ । शम्भु राईको गीतबाट ‘गलबन्दी’ चोरी भएको भन्ने हल्लाले सामाजिक सञ्जालमा चर्चा पाइरहँदा प्रकाश सपुत आफूले अहिलेसम्म शम्भु राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीत नसुनेको दाबी गर्नुभयो ।
कखरा डटकमसँग शनिबार भएको कुराकानीमा गायक सपुतले शुक्रबार मात्र पहिलोपटक गीत सुनेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘मेरो गीतसँग मिल्यो भनेको गीत मैले शुक्रबार मात्र सुनेको हुँ, त्यो भन्दा पहिला गीत सुृनेको पनि थिइँन, गीतको लय मिलेको रैछ ।’
शनिबारको कुराकानीमा गायक सपुतले आफूले अब शम्भु राईसँग कुरा गरेपछि मात्र आधिकारिक धारणा बाहिर ल्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘शम्भु सरसँग औपचारिक कुरा भइसकेको छैन, उहाँले आधिकारिक रुपमा मलाई केही भन्नुभएको पनि छैन, गीत हुबहु त कसले कपि गर्छ र ?’ गायक सपुतले अब शम्भु राईले आधिकारिक धारणा प्रस्तुत गरेपछि वा उहाँसगको कुराकानीपश्चात मात्र आफ्नो धारणा राख्ने स्पस्ट पार्नुभएको छ ।
गायक एवं सर्जक शम्भु राईले सार्वजनिक रुपमा आफ्ना धारणा बाहिर गायक राईसँग हामीले सम्पर्क गर्याैं।
शम्भु राईको भनाई के ?
गायक तथा सर्जक शम्भु राई अहिले हतारमा प्रतिक्रिया दिनुभन्दा पनि हामी छलफलपछि मात्र प्रतिक्रिया दिने मुडमा हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘हाम्रो पनि विभिन्न संस्थाहरु छन्, प्रस्तोता समाज, संगीतकार संघ, गीतकार संघ, रोयल्टी संकलन समाज जस्ता संस्थाहरुसँग बसेर हामीले छलफल गरिरहेका छौँ, गीतको बारेमा के हो भन्ने कुरा बजारमा स्पस्ट आइसकेको छ, बजारमा दुईओटै गीतहरु आका छन्, त्यो के हो दर्शक/श्रोताले छुट्याउने कुरा हो ।’
गायक शम्भु राईले अगाडि थप्नुभयो, ‘कसको कमिकमजोरी केहो, कहाँ थपघट भयो, कसले कसलाई ‘मिनिमाइज’ गर्यो, संयोगवस् भएको हो वा नियतवस् हो, या त ‘इन्स्पाएर’ भाको हो कि, त्यसको बारेमा पनि हामी बसेर छलफल गर्छौं, त्यसपछि नै स्पस्ट थाहा हुन्छ ।’
गीत मिलेकोमा तपाईंलाई शंका छ कि छैन ? भन्ने प्रश्नको जवाफमा गायक राई भन्नुहुन्छ, ‘मैले अहिलेसम्म केही बोलेको छैन, बजारमा आको कुरा स्पस्टै छ, मैले भन्नु भन्दा पनि अरुले भन्दाचाहिँ उचित हुन्छ कि ? गीत बजारमा आइसकेपछि मेरो व्यक्तिगत धारणा भन्दा पनि, सार्वजनिक धारणाले बढी प्राथकिमता पाउला नि !’
उहाँले भप्नुभयो, ‘हामी कलाकारहरु एउटै क्षेत्रमा हिडेँको मान्छे हौं, हामीले एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि छलफलमा जानेछौँ, तर कुरा के हो त्यो त बजारमा आइसकेको छ, त्यो कुरालाई जनता, दर्शक, श्रोताले कसरी मूल्याङ्कन गर्ने ?’
‘हेर्न सक्ने, सुन्न सक्ने र बुझ्न सक्नेहरुले त बुझिहाल्नुहुन्छ मैले भन्नुपर्ने के नै छ र ? हामीले भन्नुपर्ने कुराहरु चाहिँ एक/दुई दिनमा भन्छौँ । व्यक्तिगत रुपमा कुरा गर्नुभन्दा पनि संस्थागत रुपमा जाँदा ठिक होला भन्ने लागेर संस्थागत रुपमा जाने सोचेको छु,’ गायक राईले भन्नुभयो ।
प्रकाश सपुत र शान्ति श्री परियारको स्वरमा रहेको गीतमा प्रकाश सपुतकै लय तथा शब्द छ । सपुत आफैँले भिडियोको निर्देशन गरेको गीतलाई यो समाचार तयार पार्दासम्म युट्युबमा ९८ लाखभन्दा धेरैपटक हेरिसकिएको छ । गीतको भिडियोमा अञ्जली अधिकारी र गायक सपुत नै देखिनुभएको छ । सुन्नुहोस् दुई गीतका भाकाहरुः