
काठमाडौं । बाराको कलैयास्थित नेपाल विद्युत प्राधिकरण कार्यालयमा सोमबार प्राधरिकरणका कर्मचारी र उपभोक्ताबीच झडप भएको छ।
विद्युत प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन्। टाउको फुटेर घाइते भएका कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका राम बिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश (थर नखुलेका) को कलैयास्थित जिल्ला अस्पतालमा उपचार गरिएको छ।
विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे हाइ भोल्टेज करेन्ट प्रबाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटर लगायत घरायसी विद्युतीय सामग्री जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुरका उपभोक्ता कलैया बजारस्थित विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए।
कार्यालयको मूल गेटमै धर्ना र प्रदर्शनमा रहेका रामपुरका उपभोक्तामाथि प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गरेको रामपुरका स्थानीय कन्हैया महत्तोले बताए।, अन्नपूर्ण पाेस्ट् दैनिकले समाचार छापेकाे छ ।