
रुपन्देही । होटल तथा रेष्टुरेन्ट व्यवसायीले बुटवलमा रात्रिकालीन सेवा दिन पाउनुपर्ने माग गरेका छन् । उनीहरुले राति १० बजे नै व्यवसाय बन्द गर्दा ठूलो घाटा बेहोर्नुपरेको गुनासो गरे।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित १९औँ वार्षिक साधारणसभामा व्यवसायीले शान्ति सुरक्षाको नाममा रात्रिकालीन सेवा रोक्न नहुने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर विकास निर्माणको काम अगाडि बढाएको बतायनुभयो । उहाँले बुटवलका ऐतिहासिक सम्पदाको पहिचान गरी गुरुयोजना बनाएर नगरपालिकाले काम थालेको बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले रुपन्देही अन्तर्राष्ट्रियस्तरमा परिचित हुँदै गएकाले अब होटलले स्तरवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघ प्रदेश नं ५ का अध्यक्ष भास्कर काफ्लेले जनताको चाहनाअनुसार सेवा दिन सक्ने गरी व्यवसायलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
होटल व्यवसायी महासंघ प्रदेश नं ५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले यस क्षेत्रमा स्तरीय होटल सञ्चालन हुने क्रम बढेकाले राज्यले होटल व्यवसायलाई लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।