के चोरिएकै हो त ‘गलबन्दी’ ?, यसो भन्छन् प्रकाश सपुत

संयोग नेपाल
काठमाडौं । दुई साता अघि युट्युबमार्फत सार्वजनिक ‘गलबन्दी’ बोलको गीत अहिले चर्चामा छ । पछिल्लो ६ दिनदेखि लगातार युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको गीतलाई यो समाचार तयार पार्दासम्म ८८ लाखभन्दा धेरैपटक हेरिसकिएको छ ।

जे चिजको धेरै चर्चा हुन्छ, त्यसको सकारात्मक र नकारात्मक पाटो बाहिरिनु स्वभाविक मानिन्छ । यस्तै भएको छ प्रकाश सपुतको अहिले बाहिर आएको गीत ‘गलबन्दी’को पनि । मौलिकपन झल्कने भनी व्यापक चर्चा पाएको गीतलाई अहिले चोरीको भन्न थालिएको छ ।

सामाजिक सञ्जालमा गीत चोरी भएको भन्दै प्रकाश सपुतको चर्चा सँगसँगै आलोचना पनि हुन थालेको छ । गीतको लय, शब्द, भिडियो र प्रकाश सपुत स्वयंले व्यापक चर्चा पाइरहँदा सामाजिक सञ्जालमा उनलाई गीत चोरेको आरोप लाग्न थालेको छ ।

शम्भु राईको गीतबाट शम्भु राईको गीत चोरी भयो भन्ने हल्ला चल्न थालेपछि हामील पनि शम्भु राईका पुराना गीतहरुको खोजी गर्न थाल्यौं । खोज्दै जाँदा पत्ता लाग्यो शम्भु राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतसँग प्रकाशको ‘गलबन्दी’ बोलको गीत मिलेको पाइयो ।

‘गलबन्दी’ गीतको भाका गाउँदा प्रयोग भएको लय शम्भु राईको गीतसँग मिलेपछि केही मत्थर भएको ‘गलबन्दी’ले फेरि चर्चा पाएको छ । शुरुमा मौलिकपन झल्कने भन्दै प्रशंसा भएर चर्चा पाएको गीत अहिले भने चोरीको आरोपका कारण चर्चामा छ ।

के भन्छन् प्रकाश सपुत ?
गीत चोरी भएको थाहा पाउने वित्तिकै हामीले प्रकाश सपुतलाई फोन गर्यौँ । टेलिफोन संवादमा प्रकाशले आफूले शम्भु राईको गीत भर्खरै पहिलोपटक सुनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो गीतसँग मिल्यो भनेको गीत मैले शुक्रबार मात्र सुनेको हुँ, त्यो भन्दा पहिला गीत सुृनेको पनि थिइँन, गीतको लय मिलेको रैछ ।’

गायक सपुतले आफूले अब शम्भु राईसँग कुरा गरेपछि मात्र आधिकारिक धाराणा बाहिर ल्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘शम्भु सरसँग औपचारिक कुरा भइसकेको छैन, उहाँले आधिकारिक रुपमा मलाई केही भन्नुभएको पनि छैन, गीत हुबहु त कसले कपि गर्छ र ?’

आफूले शम्भु राईका धेरै गीतहरु सुनेको भएता पनि यो गीत चाँही नसुनेको सपुत बताउँछन् । उनले अब शम्भु राईले आधिकारिक धारणा प्रस्तुत गरेपछि वा उहाँसगको कुराकानीपश्चात मात्र आफ्नो धारणा राख्ने स्पस्ट पार्नुभयो ।’

प्रकाश सपुत र शान्तिश्री परियारको स्वरमा रहेको गीतमा स्वयं प्रकाशकै शब्द तथा संगीत छ । गीतको भिडियोमा प्रकाश आफैँ र मोडल अञ्जली अधिकारी देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार