काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सरकारको लक्ष्य भन्दा बढी हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । बैकले त्यो भन्दा शुन्य दशमलव १ प्रतिशत बढी हुने उल्लेख गरेको छ ।
विश्व बैंकले बिहिबार सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । नेपालको अर्थतन्त्र द्रुत गतिमा अघि बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।
विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएको दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिन सके नेपालको आर्थिक विकासले झनै फड्को मार्ने देखिएको बैंकका दक्षिण एशीयाका वरिष्ठ अर्थशाष्त्री हान्स टिम्मेरले बताउनु भएको छ ।
बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा नेपालको आर्थिक वृद्धिदरमा कमी हुन आउने सम्भावना नदेखिएको स्पष्ट पारेको छ ।
सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने विश्व बैंकको ठहर छ । प्रतिवेदनमा तीन वटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको उल्लेख गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको व्यापार घाटा बढदै गएपनि चिन्तित हुनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले आर्थिक गतिविधि बढाउँदा हुन गएको व्यापार घाटाबाट देशलाई घाटा नभई लाभ नै हुने स्पष्ट पार्नु भयो । अर्थमन्त्री खतिवडाले सीमित स्रोत भित्र रहेर सरकारले असीमित दायित्व पूरा गर्न लागि परेपनि वित्तिय अनशासनलाई पूर्ण पालना गरेको दावी गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले सरकारले आन्तरिक उत्पादनलाई जोड दिएको उल्लेख गर्दै त्यसबाट केही वर्षभित्र व्यापार घाटा अन्त्य गर्ने दाबी गर्नुभयो । निरन्तर रुपमा भईरहेको आर्थिक वृद्धिदरलाई कायम राख्न सरकारले विशेष ध्यान दिने अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा जोड दिन सरकारले कृषि क्षेत्रमा आधारित उद्योग र विद्युत उत्पादनको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो ।