
काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई गल्ती दोषारोपण गरेर पानीमाथिको ओभानो नबन्न चेतावनी दिनुभएको छ । कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभाकाे बिहिबारको बैठकमा माओवादीको हिंसात्मक द्धन्द्धका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता शर्मालेलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिनुभएको हो ।
‘संविधान निर्माणको बेला सत्तामा बसेको कांग्रेसले उपलन्धीको श्रेय मात्रै लिन खोजेको देखिन्छ’ उहाँले भन्नुभयो, ‘कांग्रेसले उपलब्धीको श्रेय मात्रै लिन खोजेर हुँदैन । त्यसबेलाको कमी कमजोरी पनि स्वीकार्नुपर्छ । गल्ती जति अरुलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्ने ?’ नेता शर्माले जनयुद्धको आडमा जनआन्दोलनले मुलुकमा राजतन्त्र अन्त्य गरेको स्मरण गराउँदै कांग्रेसलाई तत्कालीन माओवादीप्रति नकारात्मक भाव नराख्न सुझाउनुभयो ।
‘परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनास गरे भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु’ उहाँले भन्नुभयो, ‘जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पूर्णरुपमा जिम्मा लिन चाहन्छु । त्यसले दिएको उपलब्धी, परिर्वतका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज बिर्सन मिल्छ ? त्यसकारण गल्ती पनि सामूहिक रुपमा लिउँ । त्यहा भएका कमी कमजोरी जिम्मा लिन म तयार छु । र त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ ।’