काठमाडौं । बुकवर्म फाउन्डेसनको आयोजनामा राजधानीमा महिनावारी स्वच्छता दिवसको अवसरमा रजस्वला उत्सव मनाइएको छ । महिनावारीप्रति रहेको नकारात्मक मानसिकतामा परिवर्तन ल्याउन उत्सव आयोजना गरिएको फउन्डेसनले जनाएको छ ।
समाजमा व्याप्त रजस्वला सम्बन्धि अन्धविश्वासविरुद्ध अन्तरक्रियाबाट उत्सवको सुरुवात गरिएको थियो । अन्तरक्रियामा विज्ञ डा. लक्ष्मी तामाङ, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी र छाउघरका लेखक राज सरगमले धारणा राखेका थिए ।
कार्यक्रममा तामाङले महिनावार हुनु सुस्वास्थ्यपनाको संकेत रहेको बताउँदै यसले किशोरी स्वस्थ रहेको र बच्चालाई जन्म दिन सक्षम रहेको बुझिने औंल्याउनुभयो । जुन किशोरीले राम्रो पोषण प्राप्त गरेकी हुन्छन् उनको महिनावारी पनि समयमै हुने तर उचित पोषणको अभावमा किशोरीहरुको महिनावारी ढिला सुरु हुने उहाँको भनाइ थियो ।