
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराइएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद उमाकान्त चौधरीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको र हरेक क्षेत्रमा असफल बन्दै गईरहेको आरोप लगाउनुभयो । भ्रष्टाचार र काण्डै काण्डमा फसेको सरकार सर्वत्र असफल बन्दै गएको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुट प्रसाद को उपनाम दिनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो ‘सिण्डिकट अन्त्य होइन त्यसलाई प्रोत्साहन गर्ने काम गरेर यो सरकार झुट सावित भएको छ । जथाभावी कर लगाएर कर प्रसाद ओली उपनाम पाएका सम्माननिय प्रधानमन्त्री ज्यूको सरकारको कामकारावाही हेर्दा उहाँले सधै झुटको आश्वासन दिने , झुटको खेती गर्ने भएकोले अब उहाँको नाम झुट प्रसाद ओली उपनाम दिदैमा केही फरक पर्ने वाला छैन ।’
सरकारका चिप्ला र फोस्रा भाषण मात्रैले विकास निर्माणमा सफल हुन नसकिने तर्क उहाँले गर्नुभयो । सांसद चन्दा चौधरीले रेशम चौधरीलाई विरामीको उपचार गराउदै १४ किलोको सिक्री लगाएर उपचार गराउने काम भएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सिक्री लगाएर उपचार गराउने काममा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न दिएको निर्देशन कार्यान्वयन बारे भएको प्रगति बारे जानकारी गराउन पनि यहाँले गृहमन्त्रीसंग माग गर्नुभयो । दश बर्षे जनविद्रोह, गौर हत्याकाण्डका योजनाकारहरु सरकारमा रहेको र टिकापुर घटना पनि राजनीतिक जनविद्रोह भएको भन्दै उहाँले सरकारले विभेदको नीति लिएको आरोप लगाउनुभयो ।
सांसद प्रदीप यादवले चौधरी भएकै कारण सरकारले रेशम चौधरीलाई सरकारले जेल हालेको भन्दै मुलुकमा मानवअधिकार र सरकार नभएको आरोप लगाउनुभयो । उहाँले चौधरीलाई तत्काल रिहा गर्न सरकारसंग माग गर्नुभयो । उहाँले २० औ हजार हत्या गर्नेहरु अहिले मन्त्री बनेको भन्दै सरकारलाई विभेदकारी व्यवहार नगर्न सचेत गराउनुभयो । उहाँले भन्नुभयो “रेशम चौधरीलाई अबिलम्ब रिहा गर्नुपर्छ । राजनीतिक बन्दी हुन् । कुनै हत्यारा होइन । रेशम चौधरीले कसैको हत्या गरेको छैन । गोली चलाएका छैनन् । सिर्फ थारु र मधेसीका लागि आन्दोलन गरेका हुन् । आन्दोलन गरेका कारण रेशम चौधरीलाई जेलमा राख्नु जायज होइन । सपथ खुवाएर रेशम चौधरीलाई जेलमा राखिएको छ ।’
सांसद झपटबहादुर रावलले प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई ‘झुटप्रसाद र करप्रसाद ओली’ भनेको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो । जनप्रतिनिधिले बोल्ने भाषा शैली शिष्ट, सभ्य र सुसंस्कृत हुनुपर्ने भन्दै उहाँले संसदीय मर्यादा कायम गराउने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो “प्रतिपक्षी दलका माननीय ज्यूले सम्मानीय प्रधानमन्त्रीज्यूको नाम बंग्याएर करप्रसाद र झुटप्रसाद भन्नुभएको छ । यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेताज्यू पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका अन्य नेताहरुलाई, शेरबहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न हामी बाध्य भयौ भनेदेखि के हुन्छ ? अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाइयोस् ।”
प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारको प्रतिवद्धता अनुसार काम नभएको र सर्वत्र कर बढाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीलाई करप्रसाद र झुटप्रसादको उपनाम राखिदिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । त्यसपछि सभामुख कृष्णबहादुर महराले विषयवस्तुलाई गम्भीरता पूर्वक लिएको उल्लेख गर्दै त्यसबारे पछि निर्णय गर्ने बताउनुभएको थियो ।
सांसद मेटमणि चौधरीले मुलुकभरका किसानले धान खेती लगाउने समयमा मल नपाएर समस्यामा परेको भन्दै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । धान रोप्ने समयमा डिएपी र युरिया मलको सधै अभाव हुने र अहिले त्यो अवस्था देखिएको भन्दै तत्काल रासायनिक मल सहज उपलब्ध हुने व्यवस्थाका लागि पहल गर्न माग गर्नुभयो ।