
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । शनिबार दिउँसो करिब ४ बजे ताहाचलबाट आफन्त लिन विमानस्थल पुगेका २८ वर्षीय रितेश श्रेष्ठले चलाएको कारमा आगलागी भएको प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो ।
आफन्त लिन पुगेका श्रेष्ठले चलाएको बा ५ च ८३९५ नम्बरको कार गोल्डेन गेटभित्र करिब ५० मिटर अगाडि पुगेपछि आगलागी भएको प्रहरीले जानकारी दिएको हो । आगलागी भएपछि नजिकै रहेको प्रहरी कार्यालयका प्रमुख भण्डारीको नेतृत्वमा वारुण यन्त्र तथा अग्नी नियन्त्रण र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा कारको इञ्जिनमा केही क्षति पुगेको प्रहरीले जनाएको छ ।