Logo

रसुवागढी सुरुङमा सुख्खा पहिरो, १५ कामदार थुनिए



कखरा संवाददाता


काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण स्थलमा सुख्खा पहिरो जाँदा १५ जना कामदार भित्रै थुनिएका छन् । रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको हो ।

पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन् । तर, सुख्खा पहिरोले एक सय मिटर सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिकभित्रेै थुनिएका छन् । उनीहरु आफैं बाहिर आउन सक्ने अवस्था छैन ।

राति अध्यारो भएपछि काम गर्न नसकिएपछि शुक्रबार बिहानै प्रमुख जिल्ला अधिकारी लगायतको टोली त्यसतर्फ गइसकेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयाे । उहाँका अनुसार त्यहाँ फसेकाहरुलाई निकाल्नका लागि मेडिकल टीम, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत नेपाली र चिनियाँ टोलीले उद्धार थालिसकेको छ ।

‘उद्दारका लागि सीमा सुरक्षा चौकीबाट ७ जना प्रहरीको टोली पुगेको छ’, उहाँले भन्नुभयो, ‘स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना र रसुवागढी गुल्मबाट सशस्त्र प्रहरकिो २० जनाको टोली घटनास्थलमा पुगेको छ ।’ भित्र फसेका कामदारहरुसँग रेडियोलिंकबाट कुराकानी भईरहेको र सबै शकुसल भएको प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्