
काठमाडौं । बिहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हलमा पत्रकार सम्मेलन भयो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सुनाउन थाल्नुभयो र सक्नुभयो पनि । जब मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सुनाइसकेपछि त्यहाँ प्रश्नोत्तरको कार्यक्रम चल्यो ।
प्रश्नोत्तर कार्यक्रममा एउटा प्रश्न आयो, ‘राज्यव्यवस्था समितिले लोकसेवाको विज्ञापन खारेज गर्न निर्देशन दिएको छ, यसमा सरकारको आधिकारिक धारणा के हो ?’ प्रश्न सुनेपछि एकछिन मौन बस्नुभएका मन्त्री बाँस्कोटाले भन्नु्भयो, ‘निक्कै कठिन प्रश्न ।’
त्यसपछि पनि केही समय सञ्चार मन्त्रालयको हलमा मौनता छायो । पत्रकारबाट नै एकजनाले भनिहाले, ‘ढिलो आयो कडा आयो’ । पत्रकारको उक्त बोलीपछि हलमा हाँसोको माहोल बन्यो । पत्रकारको भनाइ सुन्नुभएका सञ्चार मन्त्री बाँस्कोटाले मुसुमुसु हास्दै भन्नुभयो, ‘अँ त्यो पनि भाइरल नै छ ।’
पत्रकार सम्मेलनमा आएको ‘ढिलो आयो, कडा आयो’ संवाद अहिलेको चर्चित गीत ‘गलबन्दी’को बीचमा बोलिएको संवाद हो । अहिले गलबन्दीका हरेक शब्दहरु भाइरल बनेका छन् । प्रकाश सपुत र शान्ति श्री परियारको स्वरमा रहेको गीत सर्वसाधारणमा मात्र नभएर कर्मचारी, नेता, मन्त्री सबैमा चर्चित छ ।