‘भूकम्पले संविधान बन्यो’

सिन्धुपाल्चोक । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान पाएको बताउनु भएको छ ।

बलेफी गाउँपालिका–६ माङ्खामा बिहिवार कुपकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन गर्दै अध्यक्ष दाहालले भूकम्पले सबै राजनीतिक दललाई एउटै कितामा उभ्याएको र त्यसबाट संविधान निर्माणमा सहज भएको उल्लेख गर्नुभयो ।

‘राजनीतिक दलबीच किचलो भइरहेको र दुरी बढिरहेको बेला मुलुकमा ठूलो भूकम्प गयो’ उहाँले भन्नुभयो, ‘त्यसबाट धेरैले जीवन गुमाए, धनजनको ठूलो क्षति भयो । तर त्यही भूकम्पले नेताहरुको अह‌ंकार तोड्यो र सबै जनताको सेवामा एकजुट भए । त्यसले संविधान जारी गर्न सजिलो भयो । शायद भूकम्प नआएको भए, संविधान त्यति छिटो जारी हुन्थेन होला ।’

अध्यक्ष दाहालले मुलुकमा द्वन्द्वकालीन पीडा स्मरण गराउनु भयो । ‘युद्धको पीडा कस्तो हुन्छ ? सबैलाई के थाहा ?’ उहाँले भन्नुभयो, ‘युद्धको पीडा कस्तो हुन्छ भन्ने जो युद्धमा सहभागी भए तिनीहरुलाई मात्र थाहा छ । माओवादी युद्धले नै मुलुकमा शान्ति जन्माएको छ ।’

नकारात्मकलाई सकारात्मकमा रुपान्तरण गर्न सकिने उहाँको भनाइ छ । ‘समृद्धिका लागि हामीले छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्धको वातावरण बनाएर नेपाललाई नयाँ युगतर्फ लैजानुपर्ने आवश्यकता छ, त्यसको शुरुवात भइसकेको छ’ उहाँले भन्नुभयो, अब विकास निर्माणमा जोडदिनु पर्ने अवस्था छ, निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहयोग विना अहिलेको २१ औं शताब्दीमा विकासलाई गति दिन सम्भव छैन ।’

उहाँले भूकम्पको बेला विभिन्न ठाउँमा आफूले देखेको पीडा स्मरण गराउँदै अहिले सबैमा प्रसन्नता, जोस र उमङ्ग पाएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार