
काठमाडौं । सरकारले सडक सञ्जाललाई प्राथमिकता दिएर समृद्धिमा सघाउ पुग्ने गरी आगामी वर्ष सडक विस्तार र राजमार्गहरूको कालोपत्रेलाई विशेष जोड दिएर कार्यक्रम अघि सारेको छ ।सरकारको भौगोलिक आबद्धता कायम गर्दै कृषि तथा उद्योग व्यवसायको विकास गर्ने, जनजीवन सहज गर्ने र उच्च आर्थिक वृद्धि गर्न सघाउ पुग्ने गरी सडकका क्षेत्रमा उल्लेख्य रूपमा बजेट विनियोजन गरेको दाबी छ ।
सडक, रेल तथा जलयातायातको पूर्वाधार विकासका लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरेको सरकारले दुईवटा राजमार्गको कालोपत्रे गर्न मात्र २५ अर्बभन्दा बढी बजेट विनियोजन गरेर सडक सञ्जालप्रति प्राथमिकता देखाएको छ । सरकारले दुई छिमेकी मुलुकसँगको व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र पर्यटन विकासका लागि आबद्धता बढाउन हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण गर्ने कार्यक्रम लिएर बजेट छुट्याएको छ । निर्माणाधीन मध्यपहाडी पुष्पलाल राजमार्गको ४३५ किमी कालोपत्रे गर्नका लागि मात्र सरकारले १२ अर्ब २० करोड विनियोजन गरेको छ । यस्तै, तराईका जिल्लाहरू जोड्ने हुलाकी राजमार्गको ३५० किमी कालोपत्रे गर्न १३ अर्ब ६३ करोड विनियोजन गरेको छ ।
राष्ट्रिय योजना आयोगले वार्षिक विकास कार्यक्रमअन्तर्गत पुष्पलाल राजमार्गमा १ हजार ८७९ किलोमिटर सडकलाई दुईलेनमा स्तरोन्नति अर्थात् कालोपत्रे गर्ने लक्ष्य राखेको छ । त्यसमा हाल ७५० किमी सडक कालोपत्रे भएको आयोगले जनाएको छ । आगामी लक्ष्यअनुसार ४३५ किमी सडक कालोपत्रे गर्ने, १२ वटा पुल निर्माण सम्पन्न गर्ने र ठेक्का व्यवस्थापन हुन बाँकी ४७२ किमीमा क्रमिक रूपमा ठेक्का व्यवस्थापन गरी स्तरोन्नति कार्य गर्नेछ ।
यसैगरी, हुलाकी राजमार्गमा १ हजार ७९२ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको छ । त्यसमा २१९ वटा पुल निर्माण हुने योजना आयोगका योजना छ । हाल, १८३.८ किमी सडक कालोपत्रे तथा ७८ वटा पुल सम्पन्न भएका छन् । लम्की टीकापुर र सती भजनी धनगढीमा ६७ किमी र निर्माणाधीन सडकमध्ये चालू आवको फागुनसम्म लमही कोइलाबासमा १० किमी, माइस्थान गौशाला सम्सीमा २६ किमी, जनकपुर यदुकुवा सडक ५.५ किमी, वीरेन्द्र बजार यदुकुवा महिनाथपुर सडक १० किमी, चारआली केचनामा १३ किमी, भद्रपुर राजगढमा १३.८ किमी, जितपुर–तौलिहवा १५ किमी, नवलपुर मलंगवामा ५ किमी, जनपकुर कदमचोक कपतौलमा ३ किमी तथा गितानगर घान्द्रुकमा ५.५ किमी, भुरीगाउँ गुलरिया सडकमा २ किमी, नेपालगन्ज घौडा सडकमा ६ किमी, सतीघाट एप्रोच सडकमा २ किमी गरी ६५ं३ किमी कालोपत्र कार्य सम्पन्न भएको छ । योजना आयोगले आव २०७६/७७ मा सञ्चालन हुने प्रमुख कार्यक्रममा ३५० किमी सडक कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने र १५ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार चालू वर्षको फागुनसम्म १४ हजार १०२ किमी कालोपत्रे भएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म रणनीतिक र स्थानीय सडक सञ्जाल गरेर १३ हजार ७०७ किमी कालोपत्रे भएको थियो । खण्डास्मित, कच्ची सडक गरी ३० हजार ८८ किमी सडक निर्माण भएको थियो । सरकारले आगामी वर्षका लागि काठमाडौं–निजगढ दु्रत मार्गका लागि १५ अर्ब १ करोड छुट्याएको छ । सरकारले तराईको मधेसको समृद्धिसँग जोडिएको पूर्वाधार विशेष कार्यक्रम, नौबिसे सडक खण्डको सुरुङसहितको सडक निर्माणको काठमाडौं सडक विस्तार, गल्छी–त्रिशूली–बेत्रावती–मैलुंग सडकलाई विशेष प्राथमिकता दिएको छ ।